काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
त्यस्तै, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
विभागका अनुसार राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
राति कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।