काठमाडौं । देशमा अहिले कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक असर देखिएको छ। यसका कारण विभिन्न भूभागमा मौसम आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम प्रायः सफा देखिएको छ।
आज दिउँसो हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने, पहाडी भेगमा आंशिक बदली हुने र तराईका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, आज राति हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा भने चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ।
महाशाखाले सम्भावित वर्षा तथा हिमपातलाई मध्यनजर गर्दै ती क्षेत्रका सर्वसाधारण, यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।