काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच उच्चस्तरीय शान्ति वार्ता जारी रहेको छ। पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भइरहेको यो वार्ता १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर चलिरहेको ह्वाइट हाउसले जनाएको छ।
वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानका तर्फबाट संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ सहभागी छन्। दुई देशका उच्च अधिकारीबीचको यो संवादलाई क्षेत्रीय द्वन्द्व समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
यस प्रक्रियामा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन्। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामप्रति खासै चासो नदेखाएको टिप्पणी गरेका छन्। उनले सम्झौता भए पनि वा नभए पनि आफूहरूको पक्षमा नतिजा आउने दाबी गरेका छन्।
कूटनीतिक स्रोतहरूका अनुसार दुवै पक्ष वार्ताप्रति सकारात्मक देखिए पनि केही जटिल विषयमा अझै सहमति जुट्न सकेको छैन। इरानी पक्षले पनि केही मुद्दामा मतभेद कायम रहेकाले छलफल निरन्तर रहने जनाएको छ।
यसैबीच, इरानले लेबननमा भइरहेको इजरायली आक्रमण तत्काल रोक्नुपर्ने माग अघि सारेको छ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच यति उच्चस्तरीय प्रत्यक्ष संवाद पहिलोपटक भएको हो। वार्ता इस्लामाबादस्थित सेरेना होटलमा सञ्चालन भइरहेको छ।