काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता कुनै निष्कर्षमा नपुगेपछि पाकिस्तानले दुई देशबीच संवाद जारी राख्न पहल गर्ने जनाएको छ।
शनिबार अपराह्नदेखि सुरु भएर झण्डै २१ घण्टा चलेको वार्ता सहमतिविना टुंगिएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली आइतबार बिहान स्वदेश फर्किएको छ। फर्किनुअघि उनले पत्रकारहरूसँग कुरा गर्दै सम्झौता हुन नसकेको पुष्टि गरे। उनका अनुसार अमेरिकाले राखेका सर्तहरू इरानले स्वीकार नगरेपछि वार्ता निष्कर्षमा पुग्न सकेन।
वार्तापछि पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसाक दारले पत्रकार सम्मेलनमार्फत आफ्नो देशले मध्यस्थकर्ताको भूमिका छोड्ने अवस्था नरहेको बताए। उनले अमेरिका र इरान दुवैले दीर्घकालीन शान्ति र स्थिरताका लागि संवादलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे।
दारका अनुसार आफू र पाकिस्तानी सेना प्रमुख असिम मुनिरले वार्तालाई सफल बनाउन विभिन्न चरणमा पहल गरेका थिए। यद्यपि, जटिल विषयमा सहमति जुट्न नसक्दा प्रक्रिया अधुरै रहेको उनले बताए।
अमेरिकी पक्षले इरानसँग आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता मागेको थियो। तर इरानले ती सर्तहरू अत्यधिक कडा भएको भन्दै अस्वीकार गरेको जनाइएको छ। इरानी सञ्चारमाध्यमहरूले पनि वार्ता बिना सहमति समाप्त भएको पुष्टि गरेका छन्।
दुई साताको युद्धविरामपछि स्थायी समाधान खोज्ने उद्देश्यले सुरु गरिएको यो संवाद सुरु हुनु अघि नै विभिन्न मुद्दामा अमेरिका र इरानबीच मतभेद देखिएको थियो। विशेषतः इजरायलले लेबननमा जारी राखेको आक्रमणका कारण इरान असन्तुष्ट रहँदै आएको थियो, जसले वार्ताको वातावरणलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ।
यद्यपि, पाकिस्तानले दुवै पक्षलाई पुनः वार्तामा ल्याउन कूटनीतिक प्रयास जारी राख्ने संकेत दिएको छ।