काठमाडौं । सरकारले सरकारी अस्पतालहरूमा सेवा सुधार गर्ने उद्देश्यले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ लागू गरेको छ।
यस कार्यविधिअनुसार बिरामीसँग दुर्व्यवहार गर्ने कर्मचारीलाई कार्यालय समयपछि एक घण्टा ‘व्यवहारिक सीप’ तालिममा अनिवार्य सहभागी गराइनेछ। सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न नम्र व्यवहार र उत्तरदायित्वलाई प्राथमिकता दिइएको छ।
यसैगरी विद्युतीय हाजिरी प्रणाली, अनिवार्य पोशाक र परिचयपत्र व्यवस्था लागू गरिनेछ। अस्पतालमा भीड व्यवस्थापनका लागि थप टिकट काउन्टर राखिनेछ भने जेष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र आकस्मिक बिरामीलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।
अनलाइन टिकट बुकिङ तथा २४ घण्टाभित्र परीक्षण रिपोर्ट उपलब्ध गराउने लक्ष्यसमेत राखिएको छ।