सुर्खेत । जाजरकोटमा खाना पकाउने ग्यास लिकका कारण आगलागी हुँदा तीन जना घाइते भएका छन्।
नलगाड नगरपालिका–२ छेप्कास्थित एक घरको भान्सा कोठामा आइतबार बिहान करिब १० बजेतिर ग्यास सिलिन्डरबाट लिक भएपछि आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ग्यास लिक अवस्थामै आगो बाल्ने क्रममा घटना भएको थियो।
प्रहरीका अनुसार घरधनीकी श्रीमतीले चुलो बाल्न खोज्दा अचानक आगो सल्किएर दुर्घटना भएको हो। आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया रुपा जैसी घाइते भएको जानकारी दिए।
घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट घरमा भौतिक तथा आर्थिक क्षति समेत भएको छ।