पश्चिमी प्रणालीको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

४ दिन अगाडि
पश्चिमी प्रणालीको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

काठमाडौं । देशमा अहिले पश्चिमी प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको विभागको भनाइ छ।

विभागका अनुसार सोमबार दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। कोसी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

रातिको समयमा हिमाली भूभागमा आंशिक बदली कायम रहनेछ भने पहाड र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

सम्भावित वर्षा तथा हिमपातलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।