टिकटक भिडिओपछि वीरगन्जमा युवतीको दुःखद अन्त्य

४ दिन अगाडि
टिकटक भिडिओपछि वीरगन्जमा युवतीको दुःखद अन्त्य

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका-१० मा बसोबास गर्दै आएकी एक युवतीले सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि प्राण त्यागेकी छन्।

प्रहरीका अनुसार रौतहटको दिपही घर भएकी करिब २० वर्षीया माही गुप्ताले आइतबार कोठाभित्र झुन्डिएर आत्महत्या गरेकी हुन्। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै टिकटक मार्फत स्थानीय रूपमा परिचित थिइन्।

स्थानीय स्रोतका अनुसार उनले आफ्नै गाउँका एक युवकसँग केही वर्षअघि प्रेमविवाह गरेकी थिइन्। पछिल्लो समय दुवैबीच सम्बन्धमा समस्या देखिँदै आएको बताइएको छ।

आत्महत्याअघि उनले सामाजिक सञ्जालमा आमालाई सम्बोधन गर्दै भावुक सन्देशसहितको भिडिओ राखेकी थिइन्, जसमा उनले आफू एक्लिएको र कसैले साथ नदिएको पीडा व्यक्त गरेकी थिइन्।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाले सामाजिक तथा पारिवारिक समस्याका कारण युवापुस्तामा बढ्दो मानसिक दबाबप्रति पुनः चिन्ता थपिएको छ।