कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी, कार्यसम्पादन समिति बैठक आह्वान

४ दिन अगाडि
कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी, कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वैशाख २ गते दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने तय गरिएको हो।

उक्त बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा आगामी संसदीय दलको नेता चयन प्रक्रिया, कार्यतालिका तथा सहमतिको सम्भावनाबारे छलफल हुने जनाइएको छ।

कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। निर्वाचन समितिका संयोजक रसाइलीका अनुसार वैशाख २ गते नै निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरिनेछ।

पार्टीभित्र सहमतिमै नेता चयन गर्ने प्रयास जारी रहने जनाइएको छ। शीर्ष नेतृत्वले साझा सहमति जुटाउन पहल गर्ने भए पनि सहमति नभए औपचारिक निर्वाचन प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।