राष्ट्रसंघ प्रमुखबाट बालेनलाई शुभकामना, सुशासन र पारदर्शितामा जोड

४ दिन अगाडि
राष्ट्रसंघ प्रमुखबाट बालेनलाई शुभकामना, सुशासन र पारदर्शितामा जोड

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै नेपालको विकास र संस्थागत सुदृढीकरणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गुटेरसले अप्रिल ८ मा पठाएको बधाई सन्देशमार्फत नेपाल र राष्ट्रसंघबीचको दीर्घकालीन साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्। उनले नयाँ पुस्ताको नेतृत्व उदाएको सन्दर्भ उल्लेख गर्दै सार्वजनिक जीवनमा पारदर्शिता, इमान्दारिता र नागरिकमुखी शासन अपरिहार्य भएको बताएका छन्।

उनले आफ्नो सन्देशमा नयाँ नेतृत्वले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्ने उल्लेख गर्दै संस्थागत सुधार र सेवा प्रवाहमा सुधार ल्याउन सुझाव दिएका छन्।

महासचिव गुटेरसले सन् २०३० सम्मका दिगो विकास लक्ष्य हासिल गर्न नेपालस्थित राष्ट्रसंघीय संयन्त्रले सरकारसँग सहकार्य गर्ने स्पष्ट पारेका छन्। साथै, नेपालले अन्तर्राष्ट्रिय मञ्चमा देखाउँदै आएको सक्रियता र बहुपक्षीय सहयोगप्रतिको प्रतिबद्धताको उनले प्रशंसा गरेका छन्।

पछिल्लो राजनीतिक परिवर्तनसँगै उदाएको नयाँ नेतृत्वप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला राष्ट्रसंघ प्रमुखको यो सन्देशलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।