कोरला नाका नजिक जिप दुर्घटना, चालक घाइते

४ दिन अगाडि
कोरला नाका नजिक जिप दुर्घटना, चालक घाइते

मुस्ताङ । कोरला नाका नजिकै भिरालो सडकमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्। आइतबार बिहान काठमाडौँ र पोखरा हुँदै नाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको टोयोटा हायस जिप अनियन्त्रित भई सडकबाट तल खसेको हो।

सशस्त्र प्रहरी बल नेपालका अनुसार नाकाभन्दा करिब एक किलोमिटर दक्षिणतर्फ रहेको कच्ची र भिरालो सडक खण्डमा दुर्घटना भएको हो। उक्त घटनामा काठमाडौँ तारकेश्वर–५ टोखा निवासी ३१ वर्षीय चालक नागमिन सुब्बा घाइते भएका छन्।

जिपमा चालकसहित पाँच जना सवार रहे पनि अन्य यात्रु भने सामान्य अवस्थामा रहेको जनाइएको छ। घाइते चालकलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि जोमसोमतर्फ लगिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार कच्ची तथा साँघुरो सडकका कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।