कराते स्टार एरिका स्वदेश फर्किन्, विमानस्थलमा भव्य स्वागत

४ दिन अगाडि
कराते स्टार एरिका स्वदेश फर्किन्, विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । एरिका गुरुङ कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेर सोमबार स्वदेश फर्किएकी छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक कुशल श्रेष्ठ र व्यवस्थापक रवि महर्जनसँगै भव्य स्वागत गरिएको हो।

चीनको लेसानमा सम्पन्न प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा एरिकाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म यात्रा तय गरेकी थिइन्। उपाधि भिडन्तमा भने उनी कजाकस्तानकी सोफिया बेर्लुत्सेभासँग २–१ ले पराजित भइन्, जसका कारण रजत पदकमै सीमित हुनुपर्‍यो।

फाइनलअघि एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुटी क्लियोलाई ८–३ ले हराउँदै उपाधि नजिक पुगेकी थिइन्। त्यसअघि क्वार्टरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालामाथि ८–० को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएकी थिइन्। समूह चरणमा पनि उनले सबै खेल जित्दै मजबुत प्रदर्शन गरेकी थिइन्।

यसअघि इस्तानबुलमा सम्पन्न प्रिमियर लिगमा पनि एरिका सोफियासँगै पराजित हुँदै रजत पदकमै सीमित भएकी थिइन्, जसले दुबै खेलाडीबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ।