वीरगञ्ज । आसिफ शेखले प्रधानमन्त्री कप क्रिकेटमा दुर्लभ उपलब्धि हासिल गर्दै इतिहास रचेका छन्। एपीएफ क्लबका ओपनर शेखले मधेश प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गर्दै प्रतियोगिताकै पहिलो खेलाडीका रूपमा यो कीर्तिमान बनाएका हुन्।
नारायणी क्रिकेट मैदानमा जारी खेलमा उनले १४२ बलमा २०८ रनको विस्फोटक इनिङ्स खेले। उक्त इनिङ्समा उनले १५ चौका र १७ छक्का प्रहार गर्दै विपक्षी बलिङलाई दबाबमा राखेका थिए। दोहोरो शतक पूरा गरेपछि उनी रिटायर्ड हर्ट भएका थिए।
उनको शानदार प्रदर्शनको मद्दतमा एपीएफले मधेश प्रदेशलाई ३९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ, जुन प्रतियोगिताकै उच्च स्कोरमध्ये एक हो।
यसअघि यही संस्करणमा नेपाल पुलिस क्लबले एपीएफविरुद्ध ३५५ रन बनाएको कीर्तिमान कायम गरेको थियो। आसिफको इनिङ्ससँगै एपीएफले उक्त रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेको हो।