सिरहा । नयाँ वर्ष २०८३ को अवसरमा सिरहाको प्रसिद्ध धार्मिक स्थल सलहेश फूलबारीमा आज भव्य मेला लागेको छ।
वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ सुनाखरी फूलको दर्शन गर्न बिहानैदेखि हजारौँ श्रद्धालुहरू फूलबारी पुगेका छन्। लहान नगरपालिका क्षेत्रभित्र फैलिएको करिब नौ बिघा जमिनमा रहेको यस फूलबारीको हारम रूखमा फूल फक्रिएको बताइएको छ।
स्थानीय विश्वासअनुसार १४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा यो फूललाई लिइन्छ। यही कारण यस फूलको धार्मिक र सांस्कृतिक महत्व अत्यन्तै उच्च रहेको छ।
मेलामा विशेषगरी तराई क्षेत्रका पासवान समुदायका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको छ। यहाँ पूजा गर्दा मनोकामना पूरा हुने, सन्तान प्राप्ति हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने विश्वास रहँदै आएको छ।
भक्तजनको अत्यधिक भीड व्यवस्थापन गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरू परिचालन गरिएका छन्। साथै सिसीटिभी निगरानीसमेत गरिएको छ।
स्थानीय व्यवसायी तथा सरोकारवालाहरूले यस क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताएका छन्। उनीहरूले दीर्घकालीन योजना बनाएर पूर्वाधार विकासमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।