काठमाडाैं । मध्यपूर्वमा जारी लेबनन र इजरायलबीचको द्वन्द्व अन्त्यका लागि आज (मंगलबार) अमेरिकामा उच्चस्तरीय कूटनीतिक वार्ता हुने भएको छ।
अमेरिकाको राजधानी वासिङ्टनमा हुने यस वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोको सहभागिता रहनेछ। अमेरिकास्थित इजरायलका राजदूत येचिएल लेटर र लेबननका राजदूत नादा हमादेह मोआदले विदेश मन्त्रालयमा रुबियोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
वार्ताको मुख्य उद्देश्य दक्षिणी लेबनन क्षेत्रमा चर्किएको हिंसा नियन्त्रण गर्दै द्वन्द्वको समाधान खोज्नु रहेको बताइएको छ। पछिल्लो समय इजरायल र इरान समर्थित समूहबीचको तनावका कारण लेबननमा मानवीय संकट गम्भीर बन्दै गएको छ।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणबाट दुई हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने ६ हजार ५०० भन्दा बढी घाइते भएका छन्। साथै, लाखौँ नागरिक विस्थापित भई आफ्नो घर छाड्न बाध्य भएका छन्।
यसैबीच, हिज्बुल्लाहका नेता नैम कासेमले प्रस्तावित वार्ताप्रति असन्तुष्टि जनाउँदै लेबनन सरकारलाई इजरायलसँगको बैठक रद्द गर्न आग्रह गरेका छन्। हिज्बुल्लाहले इजरायलसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएको छ।
गत फागुन २८ गते अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेपछि क्षेत्रीय तनाव थप चर्किएको थियो। त्यसको प्रतिशोधस्वरूप इरान समर्थित समूहहरूले इजरायलमाथि हमला गरेपछि द्वन्द्व विस्तार भएको हो।
यद्यपि, अमेरिका र इरानबीच दुई साता लामो अस्थायी युद्धविराम लागू गर्ने सहमति भएको बताइएको छ। तर उक्त युद्धविराम लेबननमा पनि लागू हुन्छ कि हुँदैन भन्ने विषयमा अझै विवाद कायम छ। अमेरिका र इजरायलले यसको दायरा सीमित रहेको बताएका छन् भने इरान र मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले लेबननलाई पनि समेटिएको दाबी गर्दै आएका छन्।
यसअघि पाकिस्तानमा भएको अमेरिका–इरान वार्ता निष्कर्षविहीन रूपमा टुंगिएको थियो, जसले शान्ति प्रक्रियामा थप अनिश्चितता थपेको छ।
विशेषज्ञहरूका अनुसार आज हुने वार्ताले द्वन्द्व समाधानतर्फ केही सकारात्मक संकेत दिन सक्छ, तर स्थायी शान्तिका लागि सबै पक्षबीच सहमति अपरिहार्य रहने देखिन्छ।