तीन दशकभन्दा बढी समयपछि इजरायल र लेबनन बीच प्रत्यक्ष कूटनीतिक वार्ता सुरु भएको छ। लामो समयदेखि जारी तनाव र द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित यो पहल अघि बढाइएको हो।
अमेरिकाको मध्यस्थतामा भएको वार्तामा इजरायल र इरान समर्थित हेज्बुल्लाह बीचको द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भएको जनाइएको छ। मध्यस्थकर्ताको भूमिकामा रहेका मार्को रुबियोले यसलाई ‘ऐतिहासिक अवसर’ को रूपमा व्याख्या गरेका छन्।
अमेरिकाले जारी गरेको जानकारीअनुसार दुवै पक्ष प्रत्यक्ष वार्तामा सहमत भएका छन्, तर त्यसको समय र स्थान भने अझै तय भइसकेको छैन। इजरायलले आफ्नो पक्षबाट सबै गैरराज्य सशस्त्र समूहलाई निःशस्त्रीकरण गर्ने लक्ष्य राखेको जनाएको छ।
उता लेबननले देशमा गहिरिँदै गएको मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै तत्काल युद्धविराम र ठोस कदम चाल्नुपर्ने माग अघि सारेको छ।
इजरायल र लेबननबीच औपचारिक कूटनीतिक सम्बन्ध नरहेको अवस्थामा यस स्तरको प्रत्यक्ष वार्ता पछिल्लो पटक सन् १९९३ मा भएको थियो। त्यसयता दुवै पक्षबीच पटक–पटक तनाव र सशस्त्र झडप हुँदै आएका छन्।
हालै सुरु भएको सैन्य कारबाहीपछि लेबननमा ठूलो मानवीय क्षति भएको बताइएको छ। युद्धकै बीचमा पनि हेज्बुल्लाहले इजरायली सैन्य संरचनामाथि लगातार आक्रमण गरिरहेको दाबी गरिएको छ भने इजरायलले आफ्नो अभियान हेज्बुल्लाहलाई कमजोर पार्ने उद्देश्यले जारी राखेको जनाएको छ।
यसअघि पनि गाजा क्षेत्रमा भएका युद्धका क्रममा २०२३ र २०२४ मा दुवै पक्षबीच तनाव चुलिएको थियो। अहिले सुरु भएको वार्ताले दीर्घकालीन शान्तिको ढोका खोल्ने अपेक्षा गरिएको छ।