कैलाली । कैलालीमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। दुर्घटना पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–७ गुलरामा मंगलबार साँझ भएको हो।
प्रहरीका अनुसार सु.प.प्र.०१-००१ ज १४२१ नम्बरको हाइसले सु.प.प्र.०१-१३प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा–८ का ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनार गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि हाइस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै सवारीधनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।