काठमाडौँ । नेपाली कांग्रेसले आज (बुधबार) केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समितिको महत्वपूर्ण बैठक बस्दै छ। बैठकहरू पार्टीभित्रको आन्तरिक व्यवस्थापन र अनुशासनसम्बन्धी विषयमा केन्द्रित रहने जनाइएको छ।
दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने कार्यसम्पादन समिति बैठकमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूको सहभागिता रहनेछ। बैठकका मुख्य एजेन्डामा क्रियाशील सदस्यता अद्यावधिक र संसदीय दलको नेता चयन रहेका छन्। पार्टीले वैशाख १ गतेदेखि सदस्यता अद्यावधिक अभियान सुरु गरिसकेको छ भने वैशाख ४ गते दलको नेता चयन गर्ने तयारी गरेको छ।
यसअघि बिहान ११ बजे बस्ने अनुशासन समिति बैठकमा भने पूर्णबहादुर खड्का सम्बन्धी विषयमा छलफल हुने बताइएको छ। विशेषगरी गत निर्वाचनमा भएको अन्तर्घातसम्बन्धी उजुरी र खड्काको समानान्तर गतिविधिमाथि निर्णय लिन बैठक केन्द्रित हुनेछ।
अनुशासन समितिका संयोजक तारामान गुरुङले पार्टी अनुशासन उल्लंघनका विषयमा आवश्यक निर्णय हुने संकेत दिएका छन्। यसअघि खड्कालाई कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी नगर्न सचेत गराइएको थियो।
तर उनले पुनः त्यही हैसियतमा वक्तव्य जारी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ। यस विषयमा आजको बैठकले स्पष्टीकरण माग्ने वा अन्य अनुशासनात्मक कारबाहीसम्बन्धी निर्णय लिन सक्ने देखिएको छ।
यस्तै, संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका पनि आजै सार्वजनिक गर्ने तयारी गरिएको छ।