काठमाडौँ । देशका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा लागूऔषधसहित १३ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटे पक्राउ परेका हुन्।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३२० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंह पक्राउ परेका छन्। उनी हङकङबाट क्याथे प्यासेफिकको उडानमार्फत आएका थिए। उनलाई विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
झापाको दमक नगरपालिका–४ मा रहेको चियादोकानबाट खैरो हेरोइन र नगदसहित मनिष श्रेष्ठ र राजु सुनुवार पक्राउ परेका छन्। यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट चिकित्सकको सिफारिसमा मात्र पाइने १०८ ट्याब्लेट ट्रामाडोलसहित विधित विश्वकर्मा पक्राउ परेका छन्।
अन्य स्थानहरूमा पनि लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा धरानका विभिन्न वडाबाट तीन, इटहरीबाट एक, नवलपरासी पश्चिमको रामग्रामबाट दुई र ललितपुर महानगरपालिका–५ थसीखेलबाट दुई जनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद तथा विदेशी मुद्रासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई सोमबार र मंगलबार नियन्त्रणमा लिइएको हो भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।