काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्दै प्रतितोला तीन लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन भने सुन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साताको सुरुवाततिर घटेको सुनको मूल्य पुनः वृद्धि हुँदै तीन लाख माथि पुगेको हो। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्यमा उतारचढाव देखिएको छ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।