‘स्पष्टीकरण सोध्नु हाँस्यास्पद र निरर्थक’, कांग्रेसलाई पूर्णबहादुर खड्काको जवाफ

२ दिन अगाडि
‘स्पष्टीकरण सोध्नु हाँस्यास्पद र निरर्थक’, कांग्रेसलाई पूर्णबहादुर खड्काको जवाफ

काठमाडौं । पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्।

बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। उनीमाथि पार्टीको लेटर प्याड दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लगाइएको छ।

यस विषयमा ‘हेडलाइन सेभेन’सँग कुरा गर्दै खड्काले स्पष्टीकरण माग्ने निर्णयलाई नै अवैधानिक र निरर्थक बताएका छन्।

उनले भने, “१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय भएर निर्वाचन आयोगले नेपाली कांग्रेसकाबारेमा गरेको निर्णय नेपालको संविधान विपरित, प्रचलित कानूनको विपरित, राजनीतिक दलसम्बन्धी ऐन विपरित छ । स्वयम् निर्वाचन आयोगले दलहरुका विवादित विषयमा विगतमा गरेका निर्णयका नजिरहरु विपरित छ । त्यसैले यो विशेष महाधिवेशन अवैधानिक हो ।”

खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सबै कार्यसमितिहरु नै अवैधानिक भएको दाबी गरेका छन्। उनले कार्यवाहक सभापतिका हैसियतमा केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सर्वोच्च अदालत मा मुद्दा दायर गरिसकेको पनि बताएका छन्।

“मुद्दा विचाराधीन छ, त्यहीबीचमा आमचुनाव पनि भयो । अवैधानिक कार्यसमितिका पदाधिकारीको हस्ताक्षरमा चुनावमा जानु राजनीतिकरुपमा अनैतिकता हुन्छ,” खड्काले भने, “त्यो अनैतिक भएकाले म चुनाव लड्दिन र उम्मेदवार हुन्न भनेर चुनाव नलडेको ।”

स्पष्टीकरण माग्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले अन्तिममा भने, “यो परिपेक्षमा मलाई कसैले स्पष्टीकरण सोध्यो भन्ने सुन्याछु, त्यो स्पष्टीकरण सोध्नु निकै हाँस्यास्पद पनि छ र निरर्थक पनि छ ।”

खड्काको यो अभिव्यक्तिसँगै नेपाली कांग्रेस भित्रको विवाद फेरि सार्वजनिक रूपमा चर्किएको छ। आगामी दिनमा यो विवाद थप राजनीतिक बहसको विषय बन्न सक्ने देखिएको छ।