१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द, निगरानी अझ कडा बनाइँदै

२ दिन अगाडि
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द, निगरानी अझ कडा बनाइँदै

काठमाडौं । अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्ता डिजिटल प्लेटफर्म पहिचान गरी क्रमशः निष्क्रिय बनाइएको हो। प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले अधिकांश सेवा प्रदायकले ठूलो संख्यामा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट बन्द गरिसकेको जानकारी दिएका छन्।

उनका अनुसार नेपाल टेलिकमले मात्रै उल्लेखनीय संख्यामा यस्ता प्लेटफर्म बन्द गरेको छ भने अन्य सेवा प्रदायकमार्फत पनि पहिचान र अवरोधको काम निरन्तर भइरहेको छ।

सरकारले शासकीय सुधारअन्तर्गत सट्टेबाजीसम्बन्धी गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै २४ घण्टाभित्र यस्ता एप र वेबसाइट बन्द गर्ने व्यवस्था लागू गरेको हो। सोहीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि प्राधिकरणले सक्रिय रूपमा कदम चालेको जनाएको छ।

प्रचलित कानुनअनुसार सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ। उल्लङ्घन भएमा प्रयोग भएको रकम जफत हुनुका साथै कैद र जरिवानासम्मको सजाय हुन सक्ने प्रावधान रहेको छ। त्यस्तै, जुवा वा सट्टेबाजी प्रवर्द्धन गर्ने विज्ञापनसमेत निषेध गरिएको छ।

सरकारले नागरिकलाई यस्ता अवैध डिजिटल गतिविधिबाट टाढा रहन आग्रह गर्दै प्रयोग वा सञ्चालनमा संलग्न पाइए कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ। साथै, कुनै शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भए सम्बन्धित निकायमा खबर गर्न पनि अनुरोध गरिएको छ।