शीतभण्डार निर्माणमा ७१ लाख हिनामिना आरोप, १६ जना र एक कम्पनीविरुद्ध मुद्दा

२ दिन अगाडि
शीतभण्डार निर्माणमा ७१ लाख हिनामिना आरोप, १६ जना र एक कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५, सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा अनियमितता गरेको आरोपमा १६ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा शीतभण्डार निर्माणका क्रममा गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी अनुचित रूपमा भुक्तानी गरिएको पाइएको छ।

मुद्दामा लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित विभिन्न पदमा रहेका कर्मचारीहरूलाई प्रतिवादी बनाइएको छ। साथै निर्माणमा संलग्न परामर्शदाता कम्पनी ‘मेगा माइन्डस् अर्किटेक्टस् एन्ड स्ट्रक्चर प्रालि’ र त्यसका सञ्चालक पनि मुद्दामा तानिएका छन्।

त्यसैगरी परियोजनासँग सम्बन्धित विभिन्न सहकारी संस्था र तिनका पदाधिकारीहरूलाई समेत विपक्षी बनाइएको छ। केही मृतक पदाधिकारीहरूको हकमा उनीहरूका हकवालालाई प्रतिवादी कायम गरिएको छ।

अख्तियारका अनुसार करिब ५ करोड ४३ लाख रुपैयाँ लागत अनुमान रहेको उक्त योजनामा ७१ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको दाबी गरिएको छ। सोही बराबरको विगो असुलउपर गर्न माग दाबी गरिएको छ।

आयोगले सार्वजनिक स्रोतको दुरुपयोगमा संलग्नमाथि कडा कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ।