काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य बढाइएको जनाएको हो । नयाँ मूल्यसूचीअनुसार डिजेल–मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ ।
परिवर्तित मूल्यअनुसार डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर २ सय ३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ५६ रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको र इन्डियन आयल कर्पोरेसन ले पठाएको नयाँ मूल्यसूचीका आधारमा हिसाब गर्दा अझै उच्च घाटा रहेको निगमको दाबी छ ।
निगमका अनुसार लागत मूल्य उच्च र बिक्री मूल्य कम भएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको छ ।
पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।