काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिमसहित अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।