काठमाडौं । डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु ले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी सिजनमा चौथो जित दर्ता गरेको छ । बेंगलुरुले गएराति लखनऊ सुपर जाइन्ट्स लाई पाँच विकेटले पराजित गरेको हो ।
घरेलु मैदानमा १४७ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १५.१ ओभरमा ५ विकेट गुमाउँदै सहज जित हात पारेको हो । यसअघि लखनऊ २० ओभरमा १४६ रनमै अलआउट भएको थियो ।
बेंगलुरुको जितमा विराट कोहली ले सर्वाधिक ४९ रन बनाए । उनी एक रनले अर्धशतक बनाउनबाट चुके । रजत पाटिदारले २७ रन जोड्दा जितेश शर्माले २३ रन बनाए ।
यसअघि टस जितेर पहिले बलिङ गरेको बेंगलुरुका लागि रखिम सलामले चार विकेट लिए भने भुवनेश्वर कुमार ले ३ तथा क्रुनाल पाण्ड्या ले २ विकेट लिए । लखनऊका लागि मिचेल मार्स ले सर्वाधिक ४० रन बनाए ।
यस जितसँगै बेंगलुरु ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने लखनऊ तेस्रो हारसँगै सातौँ स्थानमा झरेको छ ।