काठमाडौं । साबिक विजेता हेल्प नेपाल लगातार नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्लब फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको हो ।
यस्तै महिलतर्फको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डाइमन्ड स्पोट्र्स युथ क्लब भिड्ने भएका छन् । शुक्रबार सम्पन्न महिलातर्फको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले न्यु डाइमन्डसँगको भेट पक्का गरेको हो । न्यु डाइमन्डले शुक्रबार नै अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।