काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस दिन जन्मदिने आमालाई सम्मान गर्दै मीठा–मीठा परिकार खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद थाप्ने परम्परा रहिआएको छ ।
शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि महान् मानिन्छिन् । त्यसैले आजको दिन आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा लिइन्छ ।
छोराछोरीले बिहानै स्नान गरी आमालाई मिठाइ, फलफूल तथा पौष्टिक खानेकुरा खुवाउने चलन छ । आमा दिवंगत भएकाहरूले भने तर्पण, पिण्डदान तथा ब्राह्मणलाई भोजन गराई आमाको सम्झना गर्ने गर्छन् ।
सनातन वैदिक परम्परामा प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने उल्लेख गरिएको छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने मान्यताले आमा र जन्मभूमिको महत्व अझै उच्च देखाएको छ । धर्मशास्त्रविद्हरूका अनुसार नौ महिनासम्म गर्भमा राखी सन्तानलाई जीवन दिने भएकाले आमाको स्थान सबैभन्दा उच्च मानिन्छ ।
यस अवसरमा मातातीर्थ क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ । काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज श्रद्धालुहरूको घुइँचो लाग्ने अपेक्षा गरिएको छ ।