काठमाडौं । जल तथा मौसम विज्ञान विभाग ले आज र भोलि तराई क्षेत्रमा ‘तातो दिन’ रहने पूर्वानुमान गरेको छ ।
मौसमविद् विनु महर्जनका अनुसार देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिनको प्रभाव बढी रहनेछ ।
तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेमा तातो लहर मानिने भए पनि हाल त्यस आसपास तापक्रम पुगेकोले ‘तातो दिन’ को अवस्था रहेको विभागले जनाएको छ । यसबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
शनिबार पनि यस्तै अवस्था कायम रहने र केही क्षेत्रमा वर्षा–हिमपातसँगै तराईमा तातो दिनको प्रभाव जारी रहने पूर्वानुमान गरिएको छ ।