काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली रहेको छ ।
हाल हिमाली भूभागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ । कोशी प्रदेशको तराईसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।
देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको छ । अन्य प्रदेशको तराई भूभागको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही क्षेत्रमा बढी गर्मी हुने सम्भावना रहेको विभागले जनाएको छ ।