ढल्केवरको तेल उद्योगमा भीषण आगलागी, करोडौँको क्षति

१० घण्टा अगाडि
ढल्केवरको तेल उद्योगमा भीषण आगलागी, करोडौँको क्षति

धनुषा । धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरस्थित जनकपुर रिफाइनरी इन्डष्ट्रिजमा बिहीबार मध्यराति भीषण आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको छ।

आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट पुगेका पाँचवटा वारुणयन्त्र, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली करिब तीन घण्टा खटिएको थियो। तीव्र प्रयासपछि मात्रै आगो नियन्त्रणमा आएको जनाइएको छ।

उद्योग व्यवस्थापनका अनुसार प्रारम्भिक रूपमा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीका कारण उद्योगमा प्रयोग हुने स्टिम र थर्मोफुल मेसिनमा गम्भीर क्षति पुगेको छ भने कच्चा पदार्थ तथा तयार गरिएको तेल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

घटनाको वास्तविक कारण अझै खुलेको छैन। प्रहरीका अनुसार प्राविधिक टोलीको विस्तृत अध्ययनपछि मात्र क्षतिको यथार्थ विवरण र आगलागीको कारण स्पष्ट हुने छ। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ।