उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ बेल्टारमा गएराति भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ भने ठूलो धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार करिब सवा ३ बजेतिर सुरु भएको आगो बिहान नियन्त्रणमा ल्याइँदा करिब ६३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र उनका ३० वर्षीय नाती पवन खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू सुतिरहेको अवस्थामा एक्कासी आगलागी भएपछि बाहिर निस्कन नसक्दा ज्यान गएको बताइएको छ।
प्रहरीका अनुसार बेल्टारबजारस्थित शान्तिचोकमा रहेको घरमा बिजुलीको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा अस्मिता खड्का घाइते भएकी छन् र उनको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको छ।
आगलागीले स्थानीयवासीका घर तथा व्यवसायमा पनि ठूलो क्षति पुर्याएको छ। रवि कुमार दासको काठको घर तथा किराना पसल, पदम खड्काको घर, साथै घरमै सञ्चालनमा रहेको स्टेशनरी पसल, ट्रेलर र साना व्यापारहरू जलेर नष्ट भएका छन्। केही चौपाया समेत जलेको प्रहरीले जनाएको छ।
त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयको सक्रियतामा बिहान करिब ५:३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि बेल्टारस्थित नगर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।