मिथिलामा छठको उल्लास, आज खरना विधि गरिँदै

१३ मिनेट अगाडि
मिथिलामा छठको उल्लास, आज खरना विधि गरिँदै

महाेत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा चार दिने छठ पर्वको उल्लास छाएको छ । पर्वको दोस्रो दिन आज कात्तिक शुक्ल पञ्चमी तिथिमा श्रद्धा र निष्ठापूर्वक ‘खरना’ विधि गर्दैछन् ।

यसअघि पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चतुर्थीका अवसरमा बर्तालुले ‘नहाय–खाय’ विधि पूरा गर्दै व्रतको सङ्कल्प गरेका थिए । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेका बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर खरना विधि सम्पन्न गर्नेछन् ।

खरना छठ पर्वको महत्वपूर्ण विधि हो । यस दिन सख्खर, दूध र स्थानीय जातको धानको चामलबाट खीर पकाइन्छ । माटोको नयाँ चुलो र भाँडामा तयार पारिएको खीर केराको पातमा राखेर कुलदेवता र छठी मातालाई चढाउने परम्परा छ । त्यसपछि बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खीर ग्रहण गर्छन् ।

मिथिलामा छठलाई लोकआस्थाको महापर्वका रूपमा लिइन्छ । श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिलाई यस पर्वका मुख्य पक्ष मानिन्छन् । खरना विधि सम्पन्न गरेपछि बर्तालुले थप कठोर निराहार व्रत सुरु गर्छन् ।

पर्वको तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन बर्तालुले साँझ जलाशय, नदी तथा पोखरी किनारमा बनाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । कम्मरसम्म पानीमा डुबेर सूर्यदेवको उपासना गर्दै दिइने यस अर्घ्यलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

पर्वको अन्तिम दिन सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्यका क्रममा जटासहितको नरिवल, ठकुवा, भुसुवा, अन्य मिष्टान्न परिकार तथा केरासहितका फलफूल सूर्यदेवलाई अर्पण गर्ने चलन छ ।

छठका लागि विशेष रूपमा तयार पारिने ठकुवा, भुसुवालगायतका प्रसाद इष्टमित्र र आफन्तलाई घरमै बोलाएर खुवाउने तथा नातेदारका घरमा पुर्‍याउने परम्परा पनि छ । यी परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाट तयार गरिन्छन् । अर्घ्य दिने जलाशयका किनारमा आकर्षक घाट निर्माण गरी सजाउने गरिन्छ ।

केही वर्षअघिसम्म मधेसी हिन्दू समुदायमा बढी प्रचलित छठ पर्व पछिल्लो समय पहाडी समुदायका हिन्दूले पनि उत्साहपूर्वक मनाउन थालेका छन् । मिथिला क्षेत्रमा मुस्लिम धर्मावलम्बीले समेत बर्तालुलाई अर्घ्यका बेला आफ्ना भाकल सूर्यदेवसमक्ष प्रस्तुत गर्न दिने परम्परा छ । यसले छठलाई धार्मिक सीमाभन्दा माथि उठेर साझा सांस्कृतिक पर्वका रूपमा स्थापित गर्न सहयोग गरेको छ ।

पर्वमा विभिन्न धर्म, संस्कृति र जातजातिका समुदायको सहभागिता बढ्दै गएको भङ्गाहा–५ सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादव बताउँछन् । उनका अनुसार छठ मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग बन्दै गएको छ ।