उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। गएराति भएको दुर्घटनामा स्थानीय २८ वर्षीय रोमन बस्नेतको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। सातपत्रेबाट रामपुर बजारतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक जानकारी छ।
दुर्घटनापछि बस्नेतको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रहरीले बस चालक सुनसरी बराक्षेत्र नगरपालिका–२ चतराका २८ वर्षीय शिखर राना मगरलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।