काठमाडौं । इरानले पाकिस्तानमा अमेरिकासँग पुनः वार्ता गर्ने सम्भावनाबारे सकारात्मक रूपमा विचार गरिरहेको जनाएको छ। इरानका एक वरिष्ठ अधिकारीका अनुसार अन्तिम निर्णय भइनसकेको भए पनि वार्ता पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको छ।
पाकिस्तानले इरानमाथि लगाइएको अमेरिकी नाकाबन्दी हटाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। सोही प्रयासका कारण दुई देशबीच वार्ता पुनः अघि बढ्ने संकेत देखिएको हो।
बीबीसी अरबी र रोयटर्सका अनुसार पाकिस्तानले इरानको सहभागिता सुनिश्चित गर्न र अमेरिकी पक्षलाई सहमत गराउन कूटनीतिक पहल गरिरहेको छ।
यसैबीच अमेरिकाका उपराष्ट्रपति जेडी भान्स वार्ताका लागि आज पाकिस्तान प्रस्थान गर्ने तयारीमा रहेका छन्। अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा बुधबार आयोजना गर्ने तयारी गरिएको छ।
संभावित वार्तालाई ध्यानमा राख्दै इस्लामाबादमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसअघि अप्रिल ११ र १२ मा इस्लामाबादमै भएको लामो वार्ता निष्कर्षविहीन भएको थियो।