सिरहा कारागारमा पुनः विवाद, २२ कैदीबन्दी नियन्त्रणमा

एक घण्टा अगाडि
सिरहा कारागारमा पुनः विवाद, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागार भित्र पुनः विवाद उत्पन्न भएको छ। कारागारभित्रको आन्तरिक प्रशासन नियन्त्रणमा लिन खोजेको आरोपमा प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार बिहानै कारागारभित्र विशेष सुरक्षा कारबाही सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पछिल्ला केही दिनदेखि कारागारभित्र कैदीबन्दीबीच गुटबन्दी बढ्दै गएको र त्यसले सुरक्षा चुनौती सिर्जना गरेपछि प्रहरी हस्तक्षेप गर्न बाध्य भएको जनाइएको छ।

प्रहरीका अनुसार दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीबन्दीको समूहले जबरजस्ती बाहिर निकाल्ने प्रयास गरेका थिए। उक्त घटनापछि कारागारभित्रको वातावरण तनावपूर्ण बनेको थियो।

केही कैदीबन्दीले आन्तरिक व्यवस्थापन आफ्नै नियन्त्रणमा लिन खोजेपछि अवस्था जटिल बन्दै गएको प्रहरीको भनाइ छ। कारागार प्रशासनमाथि चुनौती खडा गर्ने गतिविधि बढेपछि सुरक्षा निकाय सतर्क बनेको थियो।

प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार कारागारभित्र अनुशासन कायम राख्न र सम्भावित झडप रोक्न तत्काल कारबाही गरिएको हो।

उनले भने, “केही कैदीबन्दीले चौकीदारलाई हटाएर प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेपछि अवस्था गम्भीर बन्न थालेको थियो। थप समस्या नबढोस् भनेर हामीले २२ जनालाई नियन्त्रणमा लिएका छौँ।”

प्रहरीले नियन्त्रणमा लिएका कैदीबन्दीलाई हाल कारागारभित्रै सुरक्षित राखिएको छ भने उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।

प्रशासनका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी ती कैदीबन्दीलाई चरणबद्ध रूपमा अन्य जिल्लाका कारागारमा सारिनेछ। यसले कारागारभित्रको तनाव कम हुने विश्वास गरिएको छ।

यस घटनापछि कारागारभित्र सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरी र कारागार प्रशासनले संयुक्त रूपमा निगरानी बढाएका छन्।

यसअघि पनि सिरहा कारागार विवादमा तानिँदै आएको छ। गत माघ महिनामा कारागारभित्रै कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि ठूलो सुरक्षा चुनौती देखिएको थियो।

त्यतिबेला तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो। उक्त घटनाको विरोधमा कैदीबन्दीले दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए।

पटक–पटक यस्ता घटना दोहोरिन थालेपछि कारागार व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। सुरक्षा व्यवस्था सुदृढ बनाउन र कैदीबन्दीबीच हुने गुटबन्दी नियन्त्रण गर्न थप कडा कदम चाल्नुपर्ने देखिएको छ। सुरक्षा निकायले भने हालको अवस्था नियन्त्रणमा रहेको र थप अप्रिय घटना हुन नदिन सतर्कता अपनाइएको जनाएको छ।