स्वीकृत पाठ्यक्रमबाहेकका पुस्तक प्रयोग नगर्न शिक्षा केन्द्रको कडाइ

३ घण्टा अगाडि
स्वीकृत पाठ्यक्रमबाहेकका पुस्तक प्रयोग नगर्न शिक्षा केन्द्रको कडाइ

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहमा सरकारले स्वीकृत गरेको पाठ्यक्रम र पाठ्यपुस्तक मात्र प्रयोग गर्न कडा निर्देशन दिएको छ।

देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै केन्द्रले तत्काल अनुगमन गरी नियम उल्लङ्घन गर्ने विद्यालय र प्रकाशकविरुद्ध कारबाही गर्न निर्देशन दिएको हो।

केन्द्रका अनुसार पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने स्पष्ट नीतिगत व्यवस्था भए पनि केही विद्यालयले स्वीकृतिविनाका सामग्री प्रयोग गरिरहेको गुनासो बढेको छ।

महँगो मूल्य, न्यून गुणस्तर र स्वीकृतिविनाका पुस्तक प्रयोग हुँदा अभिभावक तथा विद्यार्थीलाई अतिरिक्त आर्थिक भार परेको केन्द्रको भनाइ छ।