काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दै राष्ट्रपति निकोलेस मदुरोलाई पक्राउ गरेर लगेपछि गम्भीर अन्तर्राष्ट्रिय तनाव सिर्जना भएको छ। यो घटनाले विश्व राजनीति र अन्तराष्ट्रिय सम्बन्धमा ठूलो हलचल उत्पन्न गरेको छ।
शनिबार राति भेनेजुएलाका राजधानी कराकासलगायत चारवटा राज्यमा अमेरिकी सेनाले ठूलो सैन्य कारबाही सञ्चालन गरेको थियो। यस क्रममा अमेरिकी विशेष सेना र वायु सेनाका हवाई आक्रमणका कारण विस्फोट, धुवाँ र रातभरि तनावमय वातावरण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले शनिबार राति सम्पन्न यस आक्रमण सफल भएको र राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको नियन्त्रणमा ल्याएको दाबी गरेका छन्। ट्रम्पले भनेका छन् कि यस कदमले “नार्कोट्राफिक र आतङ्कवादसँग लड्न” मद्दत गर्नेछ र भेनेजुएलामा केहि समयका लागि अमेरिका नै व्यवस्थापनको भूमिका निभाउन सक्ने बताएका छन्।
मादुरोलाई न्यूयोर्कस्थित संघीय अनुसन्धान अदालतमा लागूऔषध र आतङ्कवाद सम्बन्धी अभियोगमा पेश गरिने तयारी भइरहेको बताइएको छ। उनलाई अमेरिकी अधिकारियोले नार्को–आतङ्कवाद तथा कर्डी कोर्टमा मुद्दा चलाउने घोषणा समेत गरेका छन्।
तर भेनेजुएला सरकारले यसलाई कडा आलोचना गरेको छ। भेनेजुएलाकी उपराष्ट्रपति डेलेसी रोड्रिगेज ले मदुरो जीवित रहेको प्रमाण माग्दै अमेरिकी कारवाहीलाई अवैध सैन्य आक्रमण भनेकी छन्। साथै, संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन राष्ट्रहरूले पनि अमेरिकाको यस कदमको कडा निन्दा र चिन्ता व्यक्त गरेका छन्।
यस कारबाहीलाई लिएर विश्वका धेरै देशहरूले संसदीय र कानुनी आधारमा प्रश्न उठाउँदै संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पनि आगामी बैठक बोलाउने प्रस्ताव अघि सारिएको छ। केही देशहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र राष्ट्रको सार्वभौमिकता हनन को रूपमा टिप्पणी गरेका छन्।
यो घटनाले ल्याटिन अमेरिका र समग्र विश्व राजनीतिमा ठूलो हलचल र असन्तुलन सिर्जना गरेको छ । र आगामी दिनहरूमा यसका दीर्घकालीन प्रभावहरू अन्तर्राष्ट्रिय स्तरमा कसरी देखा पर्छन् भन्ने कुरा अझै स्पष्ट हुन बाँकी छ।