कुशल भुर्तेलको शानदार प्रदर्शनमा यूएईसँग नेपाल विजयी

३ घण्टा अगाडि
कुशल भुर्तेलको शानदार प्रदर्शनमा यूएईसँग नेपाल विजयी

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोलीबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला बराबरीमा टुंगिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई ८ विकेटले पराजित गरेको हो। यस जितसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याउन सफल भयो।

१२९ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निकै सहज रूपमा खेल आफ्नो पक्षमा पारेको थियो। ओपनर कुशल भुर्तेलले सानदार ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

भुर्तेल ५७ बलमा १२ चौका र २ छक्कासहित ८४ रनमा अविजित रहँदा उनले पारीको सुरुदेखि अन्त्यसम्म नियन्त्रणमा राख्दै उत्कृष्ट प्रदर्शन गरे। उनको इनिङ्सले नेपालको जितलाई एकतर्फी बनाएको देखिन्थ्यो।

उनलाई कप्तान दीपेन्द्र सिंह ऐरीले राम्रो साथ दिए। ऐरी २३ रनमा अविजित रहँदा उनले संयमित खेल प्रदर्शन गर्दै टोलीलाई जितसम्म डोर्‍याए।

त्यसैगरी कुशल मल्लले १९ रनको योगदान दिएका थिए। नेपालको शीर्षक्रमले नै लक्ष्य पूरा गरेपछि मध्यक्रममा दबाब नै आउन पाएन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। सुरुआत मध्यम रहे पनि उनीहरूले ठूलो स्कोर बनाउन सकेनन्।

यूएईका लागि अक्षदीप नाथले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनी ५३ रनमा अविजित रहँदा टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउने प्रयास गरेका थिए।

त्यस्तै, मुहम्मद अर्फानले ३२ रन तथा अदीव उस्मानीले ३० रन जोड्दै केही समय पारी सम्हालेका थिए। तर अन्य ब्याट्सम्यानले राम्रो साथ दिन नसक्दा टोली ठूलो स्कोर बनाउन असफल रह्यो।

नेपालको बलिङतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर सावित भए। उनले ३ विकेट लिँदै यूएईको पारीलाई नियन्त्रणमा राख्न महत्वपूर्ण भूमिका खेले।

यस्तै हेमन्त धामी ले २ विकेट लिए भने नन्दन यादव र साहब आलम ले एक–एक विकेट लिए।

नेपालका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै यूएईलाई ठूलो साझेदारी बनाउन दिएनन्, जसका कारण विपक्षी टोली मध्यम स्कोरमा सीमित रह्यो।

घरेलु मैदानमा प्राप्त यस जितले नेपाली टोलीको मनोबल थप उकासिएको छ। विशेषगरी शीर्षक्रमको प्रदर्शन र स्पिन बलिङको संयोजनले नेपाललाई सन्तुलित टोलीको रूपमा प्रस्तुत गरेको छ।

यस शृंखलाले नेपालले टी–२० क्रिकेटमा निरन्तर सुधार गरिरहेको संकेत दिएको छ। खेलाडीहरूको व्यक्तिगत प्रदर्शनसँगै टोली समन्वय पनि सुदृढ हुँदै गएको देखिएको छ।