काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहान मापन गरिएको प्रारम्भिक तापक्रम अनुसार मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस देखिएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार यो प्रारम्भिक मापन भएकाले वास्तविक न्यूनतम तापक्रम बिहान ८:४५ बजे सार्वजनिक हुने छ। त्यसबेला तापक्रम अझ केही घट्न सक्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।
हिजो उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३०.१ डिग्री सेल्सियस मापन गरिएको थियो।आज भने अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना अत्यन्त न्यून रहेको छ। अहिले मौसम मुख्यतया सफा रहेको छ भने आकाशमा बादलको मात्रा पनि न्यून रहेको जनाइएको छ।