काठमाडौं । सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न सरकारले पुनः निर्देशन दिएको छ। यातायात व्यवस्था विभागले हालै व्यवसायी र सम्बन्धित निकायलाई परिपत्र गर्दै उक्त सहुलियत कडाइका साथ कार्यान्वयन गर्न ताकेता गरेको हो।
विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्र पठाउँदै विद्यार्थीको कानुनी अधिकारको पालना गर्न स्पष्ट निर्देशन दिएको छ।
इन्धनको मूल्यवृद्धिसँगै केही सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढेपछि विभाग सक्रिय भएको हो। ‘हेलो सरकार’ लगायतका माध्यममा विद्यार्थीहरूले परिचयपत्र देखाउँदा पनि छुट नपाएको तथा दुर्व्यवहारसमेत सहनु परेको उजुरीहरू आएको जनाइएको छ।
यसैबीच विभागले २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमतिलाई स्मरण गराउँदै सोही आधारमा विद्यार्थीलाई ४५ प्रतिशत छुट उपलब्ध गराउनुपर्ने व्यवस्था दोहोर्याएको छ।
यदि कुनै सवारीसाधनले परिचयपत्र भएका विद्यार्थीलाई सहुलियत दिन अस्वीकार गरे आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ।