दुईदिने बिदाले पोखरामा पर्यटन चलायमान, आन्तरिक पर्यटकको भीड बढ्दो

एक महिना अगाडि
दुईदिने बिदाले पोखरामा पर्यटन चलायमान, आन्तरिक पर्यटकको भीड बढ्दो

काठमाडौं । सरकारले लागू गरेको शनिबार–आइतबारको दुईदिने सार्वजनिक बिदाले पोखराको पर्यटन क्षेत्रमा उल्लेखनीय चहलपहल बढाएको छ। लामो समयदेखि सुस्त देखिएको पर्यटन व्यवसायमा यस निर्णयले नयाँ ऊर्जा थपिएको भन्दै व्यवसायीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

पर्यटन क्षेत्रका सरोकारवालाका अनुसार दुईदिने बिदाले विशेषगरी आन्तरिक पर्यटकलाई यात्रा गर्न सहज बनाएको छ। यसले केवल घुमफिरको अवसर मात्र बढाएको छैन, समग्र अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुर्‍याएको उनीहरूको भनाइ छ।

व्यवसायीहरूले अब यस्तो बिदालाई ‘होलिडे प्याकेज’का रूपमा विकास गर्दै कम परिचित गन्तव्यहरूको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। योजनाबद्ध रूपमा भ्रमण संस्कृति विस्तार गर्न सके पर्यटन क्षेत्र दीर्घकालीन रूपमा थप सबल बन्ने अपेक्षा गरिएको छ।

ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले यो कदम आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण हुने बताए। उनका अनुसार कोभिड–१९ पछि विस्तारै पुनःउत्थान हुँदै आएको पर्यटन क्षेत्रमा यस्तो नीतिले थप गति दिनेछ।

पर्यटन व्यवसायीहरूका अनुसार नयाँ वर्ष र सार्वजनिक बिदाको संयोजनले अहिले पोखरामा आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ। फेवाताल, बेगनासताल र सराङकोट लगायतका क्षेत्रहरूमा पर्यटकको भीड बढेको छ, जसले होटल, रेस्टुरेन्ट तथा स्थानीय व्यापारमा सकारात्मक प्रभाव पारेको छ।

होटल व्यवसायी तथा पर्यटनकर्मीहरूले यस प्रकारका नीतिको निरन्तरताले रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।