काठमाडौं । देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै गएको छ। विशेषगरी तराई क्षेत्रमा पछिल्ला दिनहरूमा गर्मी बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार बिहीबार तराईका धेरै स्थानमा तातो दिनको अवस्था रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरसमेत चल्ने सम्भावना रहेको छ। मधेससहित कोसी, वाग्मती, गण्डकी र अन्य तराई भूभागका उपत्यका तथा खोँचहरूमा पनि उच्च तापक्रम रहने अनुमान गरिएको छ।
दिउँसोतिर हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा अधिकांश ठाउँमा मौसम सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा भने कोसी, वाग्मती, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।
विभागले बढ्दो गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।