काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौँ पीएम कप महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ। दशरथ रंगशाला कभर्डहल मा हुने प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ।
लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लब प्रतिस्पर्धामा उत्रिएका छन्। महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
यो लिग नवौँ राष्ट्रिय च्याम्पियनसिपबाट छनोट भएका उत्कृष्ट टोलीहरूबीच आयोजना हुन लागेको हो। अघिल्लो संस्करणमा पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यू डायमण्डले उपाधि जितेका थिए।
प्रतियोगिता सिंगल राउण्ड रोविन प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार सबै टोलीले एकअर्कासँग खेल्नेछन्। लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। कुल ४५ खेल हुने यस प्रतियोगितामा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल लिग चरणमै सम्पन्न हुनेछन्।
प्रतियोगिताको महत्व अझ बढाउने पक्ष भनेको उत्कृष्ट टोलीले सन् २०२६ मा आयोजना हुने काभा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाउनु हो।
पहिलो दिन आज चार खेल हुने तालिका छ। महिलातर्फ बिहान ८ बजे एपीएफ र आर्मीबीच तथा १० बजे पुलिस र एभरेष्टबीच खेल हुनेछ। पुरुषतर्फ मध्यान्ह १२ बजे हेल्प नेपाल र बुढानिलकण्ठबीच तथा अपराह्न ४ बजे आर्मी र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन समारोह भने दिउँसो ३ बजे हुने जनाइएको छ।
यसपटक विजेताले पाउने पुरस्कार राशीमा उल्लेखनीय वृद्धि गरिएको छ। महिला र पुरुष दुवैतर्फ विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ।
एनभीएद्वारा आयोजित प्रतियोगिताहरूमा यसपटकको नगद पुरस्कार अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको आयोजकले जनाएको छ, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ।