काठमाडौं । नेपाली कांग्रेसको विवाद मथ्थर भएको छैन । संस्थापन पक्षका पाँच प्रदेश सभापति विशेष महाधिवेशनको औचित्य नभएको भन्न थालेका छन् भने मुख्यसचिव कृष्णप्रसाद पौडेलले विशेष महाधिवेशनको औचित्य सकिएकाले चुनावमा होमिन तल्ला समितिहरुलाई परिपत्र नै गरेका छन् ।
पुस १९ गतेको मिति राखेर पार्टी मुख्यसचिव पौडेलले पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार भन्दै फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन निर्देशन दिएका छन् । बैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन कार्यतालिका भएकाले त्यसै अनुसार अघि बढ्नपनि निर्देशन दिइएको छ । त्यही बैठकमा फरक मत दर्ज गराएका महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले विशेष महाधिवेशनको माग गर्ने २४ सय ८८ प्रतिनिधिको हस्ताक्षर अवमूल्यन गर्न नहुने तर्क राखेका छन् ।
सोमबारमात्र पनि विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालयमा पुनः ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले विशेष महाधिवेशन तत्काल आह्वान गर्न भन्दै विधानको धारा १७ (२) विरुद्ध नजान चेतावनी दिएका छन् ।
संस्थापन र विशेष महाधिवेशन पक्षधरबीचको विवाद चर्किदै जाँदा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मध्यमार्गी छलफललाई तीव्रता दिएका छन् । कार्यबाहक सभापति खड्काले विशेष महाधिवेशन नभनेर संकल्प सम्मेलनको नाम दिन सुझाएर छलफल अघि बढाएका हुन् । कार्यबाहक सभापति खड्का, महामन्त्रीद्वय थापा, शर्मा र केन्द्रीय सदस्य रमेश लेखकबीच संकल्प सम्मेलन गर्ने गरी छलफल तीव्र बनेको कांग्रेस स्रोतले बताएको छ ।
छलफलमा पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको ‘सेफल्यान्डिङ’का लागि केन्द्रीय कार्यसमिति बैठकले पुस अन्तिम साता ‘संकल्प सम्मेलन’ आह्वान गर्नुपर्ने प्रस्तावमा महामन्त्री शर्मा पनि सकारात्मक देखिएको बुझिएको छ । तर, शर्माले अर्का महामन्त्री थापालाई फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर जानुपर्ने प्रस्ताव गरेका छन् । त्यसमा पार्टीको नेतृत्व परिवर्तनलार्ई थाँती राख्न सकिने उनको सुझाव छ । संकल्प सम्मेलनले चुनावमा जाँदा पार्टीको प्रष्ट एजेण्डा र मुद्दा तय गर्ने गरी छलफल चलाइएको छ ।
विशेष महाधिवेशन पक्षधर पनि यो प्रस्तावमा सकारात्मक बनेको बुझिएको छ । विशेष महाधिवेशनका निर्णयलाई साझा संकल्पका रुपमा ग्रहण गर्ने परिस्थिति निर्माणमा काम भइरहेको नेता मधु आचार्यले बताएका छन् ।
यता विशेष महाधिवेशनका लागि भनेर काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलेर आन्तरिक गृहकार्य तीव्र पारिएको छ । आउँने आइतबारबाटै विशेष महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काम अघि बढेको नेताहरुले बताएका छन् । मध्यमार्गी धारमा सहमत बने कांग्रेस नफुट्ने नेताहरुले बताएका छन् । तर, आ–आफ्नै अडान कायमै रहे कांग्रेस फुटभन्दा बाहिर जान सक्दैन ।