काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा "तातो दिन" र "तातो हावाको लहर" जारी रहने पूर्वानुमान गरेको छ।
विभागका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरले हिमाली र पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो मधेस प्रदेशसहित बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै उपत्यका र खोँचहरूमा अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चल्ने संकेत विभागले दिएको छ।
यस्तै, कोसी प्रदेशलगायत अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी प्रदेशका केही स्थान, बाग्मती र गण्डकीका पहाडी तथा हिमाली भूभाग, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। कोसी प्रदेशको तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा प्रायः सफा मौसम रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
विभागले अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।