चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको विशेष ‘स्विप अपरेशन’ अन्तर्गत ११३ जनालाई नियन्त्रणमा लिइएको छ। सार्वजनिक शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बिहीबार गरिएको उक्त कारबाहीमा विभिन्न प्रकारका अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरू समातिएका हुन्।
प्रहरीका अनुसार नियन्त्रणमा परेकामध्ये लागुऔषधको किनबेच तथा सेवनमा संलग्न, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा हल्ला गर्ने, यात्रुहरूको इच्छाविपरीत झोला तान्ने तथा दुःख दिने व्यक्तिहरू रहेका छन्। त्यस्तै, सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध सिर्जना गर्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याइएको छ।
यस्तै, सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउँदै मोटरसाइकल चलाउने चालकहरूलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता गतिविधिविरुद्ध आगामी दिनमा पनि निरन्तर अनुगमन र कारबाहीलाई तीव्र बनाइने स्पष्ट पारेको छ।