कञ्चनपुर । राष्ट्रिय राजनीति अहिले सत्ता समीकरण र जिम्मेवारी बाँडफाँटको बहसमा केन्द्रित भइरहेका बेला कञ्चनपुर-२ का सांसद दीपक बोहराको कार्यशैली भने फरक ढंगले चर्चा कमाइरहेको छ। सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि धेरैको नामसँगै कञ्चनपुर-२ बाट सांसद बनेका रास्वपा नेता दीपक बोहराको नाम चर्चाको अग्रपंत्तिमा छ । तर, पद भएपनि नभए पनि एउटा सांसदको हैसियतमा उनले धेरै काम गरेका छन् ।
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका बोहराले नागरिकका समस्या बुझ्ने र समाधानतर्फ पहल गर्ने शैलीलाई प्राथमिकता दिएका छन्। यसको एउटा प्रतिनिधि उदाहरण कञ्चनपुरकै एक बालकको स्वास्थ्य समस्यामा उनले गरेको योगदान हो ।
बेदकोट क्षेत्रका १२ वर्षीय अर्नब बोहरा जन्मजात ‘हिमोफिलिया’ रोगबाट पीडित थिए । यो यस्तो रोग हो जसमा शरीरमा रगत जम्ने प्रक्रिया सामान्य हुँदैन, जसका कारण सानो चोटपटकले पनि जटिल अवस्था निम्त्याउन सक्छ। अर्नबलाई नियमित औषधि आवश्यक पर्थ्यो, तर उपचार पहुँच अत्यन्त कठिन थियो।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा कहिले भारतको बरौनीसम्म पुगेर औषधि ल्याउनु पर्ने, कहिले काठमाडौंको अस्पताल धाउनुपर्ने बाध्यता थियो। पछि केही समय सेती प्रादेशिक अस्पतालबाट औषधि उपलब्ध हुन थाले पनि कञ्चनपुरका गाउँबाट धनगढी पुग्नै कठिन हुने भएकाले उपचारमा ढिलाइ हुने समस्या कायमै थियो।
यही अवस्था निर्वाचनकै क्रममा बोहरासम्म पुगेको थियो । समस्या थाहा पाएपछि उनले प्रत्यक्ष रूपमा परिवार भेटेर वास्तविकता बुझे। त्यसपछि उनले स्वास्थ्य संस्थाहरू, प्रदेश सरकार र संघीय तहसम्म समन्वय सुरु गरे। अन्ततः कञ्चनपुरकै महाकाली अस्पताल मा हिमोफिलियाको औषधि उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
यस पहलपछि अर्नब मात्र होइन, सोही क्षेत्रका अन्य बिरामीले पनि सहज रूपमा उपचार पाउन थालेका छन्। पहिले औषधिका लागि टाढा धाउनुपर्ने बाध्यता हट्दै स्थानीयमै सेवा पाउन थालेपछि परिवारहरूलाई ठूलो राहत मिलेको छ।
स्थानीय बासिन्दाका अनुसार, “सांसदले चाहेमा सामान्य समन्वयले पनि कति ठूलो परिवर्तन ल्याउन सक्छ” भन्ने उदाहरण बोहराले प्रस्तुत गरेका छन्। चुनावअघि नै समस्या संकलन गर्ने, निर्वाचित भएपछि त्यसमा काम गर्ने र नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने उनको शैलीले जनप्रतिनिधिको भूमिकालाई व्यवहारमा देखाएको टिप्पणी भइरहेको छ।
राजनीतिक विश्लेषकहरू भने उनको कामलाई सकारात्मक संकेतका रूपमा लिँदै भन्छन्— राष्ट्रिय स्तरका जिम्मेवारीका लागि अनुभव र अवसर दुवै आवश्यक हुन्छ। हालको अवस्थामा प्रधानमन्त्रीले गृह आफूसँगै राखेका बेला दीपक बोहराको नाम पनि चर्चामा छ । उनी रास्वपा सभापति रवि लामिछानेसँग पत्रकारितादेखि राजनीतिसम्म सँगसँगै छन् । सभापति लामिछानेलाई हरदम साथसहयोग दिंदै आएका उनले सभापति लामिछाने छोटो कार्यकालका लागि गृहमन्त्री हुँदा प्रमुख स्वकीय सचिवकारुपमा काम गरिसकेको अनुभव छ । उनमा प्रशासनिक समझ, छिटो निर्णय गर्ने क्षमता र नागरिक–सरकार समन्वय गर्ने शैलीका कारण बोहरालाई सक्षम नेताका रूपमा हेरिन थालेको छ।
समग्रमा, कञ्चनपुरको एक स्वास्थ्य समस्याबाट सुरु भएको पहलले एउटा सन्देश दिएको छ— प्रभावकारी नेतृत्व ठूलो पदबाट मात्र होइन, सानो हस्तक्षेपबाट पनि देखिन सक्छ। दीपक बोहराको सक्रियताले यही तथ्यलाई पुष्टि गरेको छ।