थापाथलीमा बस्ती हटाउन सुरू, अधिकांशले घर खाली गरे (फाेटाे फिचर)

एक महिना अगाडि
थापाथलीमा बस्ती हटाउन सुरू, अधिकांशले घर खाली गरे (फाेटाे फिचर)

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने तयारीसँगै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। घर–टहरा हटाउने कार्य सुरु हुनुअघि प्रहरी परिचालन गरिएको हो।

स्थानीय प्रशासन र काठमाडौँ महानगरपालिकाले यसअघि नै सूचना जारी गर्दै बस्ती खाली गर्न आग्रह गरेको थियो। सोही सूचनाअनुसार अधिकांश बासिन्दाले घर छोडिसकेको जनाइएको छ।

प्राप्त जानकारीअनुसार करिब ७० प्रतिशत बासिन्दाले शुक्रबार साँझसम्म घर–टहरा खाली गरिसकेका छन्। बाँकीलाई पनि तत्काल स्थान खाली गर्न अनुरोध गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखले सम्भावित अवरोधलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको बताएका छन्। कुनै पनि अप्रिय घटना हुन नदिन पर्याप्त प्रहरी परिचालन गरिएको जनाइएको छ।

बस्ती हटाउने निर्णयप्रति केही स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले वैकल्पिक व्यवस्थाको माग गर्दै विरोध पनि जनाएका थिए।

तर प्रशासनले नदी किनारका बस्ती जोखिमयुक्त भएकाले हटाउन आवश्यक भएको बताउँदै आएको छ। दीर्घकालीन व्यवस्थापनका लागि अन्य विकल्प खोजिने पनि जनाइएको छ।

बस्ती हटाउने क्रममा मानवीय पक्षलाई ध्यानमा राख्नुपर्ने माग पनि उठिरहेको छ। स्थानीयलाई उचित पुनर्वासको व्यवस्था गर्नुपर्ने आवाज बढ्दै गएको छ।

यसैबीच, महानगरपालिकाले बस्ती व्यवस्थापनलाई योजनाबद्ध रूपमा अघि बढाउने जनाएको छ। सुरक्षा व्यवस्थासहित आजदेखि थप कार्य अघि बढ्ने तयारी गरिएको छ।