थापाथली बस्ती हटाएपछि ६ परिवार मात्रै सरकारको सम्पर्कमा

एक महिना अगाडि
थापाथली बस्ती हटाएपछि ६ परिवार मात्रै सरकारको सम्पर्कमा

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाएपछि सीमित संख्यामा मात्र प्रभावित परिवार सरकारको सम्पर्कमा आएका छन्।

सरकारी स्रोतका अनुसार आफू घरवारविहीन भएको भन्दै हालसम्म ६ परिवार मात्रै सम्पर्कमा आएका छन्। ती परिवारका सदस्यहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर प्रारम्भिक पहिचान (स्क्रिनिङ) प्रक्रिया अघि बढाइएको छ।

रंगशालामा उनीहरूको विवरण संकलन गरेपछि बसोबासको अस्थायी व्यवस्था मिलाउने तयारी गरिएको जनाइएको छ। प्रहरीका अनुसार हालसम्म १२–१३ जना व्यक्तिले मात्र आफू घरवारविहीन भएको जानकारी गराएका छन्।

सरकारले शनिबार बिहानदेखि बस्तीका संरचना हटाउने कार्य सुरु गरेको थियो। त्यसअघि नै केही बासिन्दा आफैं अन्यत्र सरेका थिए भने इच्छुकलाई प्रहरीको समन्वयमा सुरक्षित स्थानसम्म पुर्‍याइएको थियो।

अधिकांश बासिन्दा वैकल्पिक व्यवस्था खोज्दै अन्यत्र सरेको अनुमान गरिए पनि वास्तविक सुकुमवासीको पहिचान प्रक्रिया भने जारी रहेको प्रशासनले जनाएको छ।